अध्ययन भन्छ, हिमाली सहरमा पानी जेगाउन ‘विदुर मोडल’ उपयोगी

काठमाडौं : हिमालय क्षेत्रका सहरका लागि विदुर नगरक्षेत्रको खानेपानी व्यवस्थापन अनुकरणिय रहेको एक अध्ययनले देखाएको छ । साउथ एसिया इन्ष्टिच्युट अफ एड्भान्स्ड् स्टडिज (सियास)ले गरेको अध्ययनले विदुर नगरपालिकाको खानेपानी व्यवस्थापन प्रभावकारी देखिएको निष्कर्ष निकालेको हो ।

अध्ययनमा कमल देवकोटा र कौस्तुभराज न्यौपाने संलग्न थिए । हिमालय क्षेत्रमा अवस्थित सहरको लागि बहु–स्रोत र बहु–प्रणालीयुक्त पानी आपूर्ति नीति प्रवद्र्धन गर्न “विदुर मोडेल” उपयोगी हुन सक्ने देखियो जसमा सरकारी, सामुदायिक, निजी क्षेत्रको पानी आपूर्ति प्रणालीहरू सँगसँगै चल्न सक्ने अध्ययनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ֹसमुदाय र नगरतहमा निरन्तर अनुसन्धान गर्ने, त्यसबाट आर्जित तथ्य र प्रमाणका आधारमा छलफल गर्ने, सुसूचित भएर योजना निर्माण गर्ने परिपाटीका लागि ‘पानी चौतारी’ जस्ता प्लेटफर्म संचालन गर्नु धेरै उपयुक्त हुन्छ ।’

हाल भइरहेको र भविष्यमा हुन सक्ने पानीको मागलाई मध्यनजर गर्दै नगरपालिकालाई एउटा वृहत जलसुरक्षा रणनीतिको खाँचो रहेको उनीहरुको निष्कर्ष छ ।

साउथ एसिया इन्ष्टिच्युट अफ एड्भान्स्ड स्टडिज (सियास)ले नेपालका धरान, धुलिखेल, बिदुर र भारतका हल्द्वानी र मसुरी सहरमा सन् २०१४ देखि यी सहरहरुको खानेपानी व्यवस्थापनका विभिन्न पक्षहरुलाई समेटेर एक अध्ययन गरेको थियो । जस मध्य बिदुरको खानेपानी व्यवस्थापनमा गरिएको अभ्यास नौलो किसिमको पाइएको उल्लेख छ । विदुरमा बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गर्ने मुख्य प्रणाली बाहेक ३१ वटा स–साना खानेपानी उपभोक्ता समुहहरु छन् ।

विदुरमा गरिएको अध्ययनको क्रममा तत्कालिन जिल्ला जलस्रोत समितिमा दर्ता भएका ३१ वटा स–साना खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूसँग स्थानीय स्रोतमा मानिसहरुको निर्भरता, तिनको उपयोगको अर्थ राजनीति साथै पर्यावरण र जनजिविकासंगको सम्बन्ध आदिलाई समेटेर अन्तर्वार्ता गरिएको थियो ।

मध्य सहरका अधिकांस उपभोक्ताहरुको रोजाइमा पर्ने रावल धारामा पानी लिन आउने ३२ जना उपभोक्ताहरुसंग बिस्तृत कुराकानी पनि गरिएको थियो।  २०७२ सालको भूकम्पले खानेपानीका संरचनाहरु भत्काएर यसको व्यवस्थापनमा ठुलो चुनौती खडा गरेको अवस्थामा व्यक्तिगत तहबाट उपभोक्ताहरुले अपनाएका उपायहरुको दस्तावेजीकरण गर्नका लागि केहि घरधुरीहरुमा घरधुरी सर्वेक्षण पनि गरिएको थियो ।  भूकम्पले मुख्य वितरण प्रणालीको संरचना भत्काएर तत्काल पुनस्थापना गरि पानी वितरण प्रणाली सुचारु गर्न नसकिरहेको अवस्थामा स्थानीय स्तरमा रहेका स–साना समुहद्धारा व्यवस्थित खानेपानीले ठुलो टेवा पुर्याएको कुरा अध्ययनले देखाएको छ ।

९० मिनेटको ‘रावल धारा’ अवलोकनको क्रममा ९२ जना उपभोक्ताहरु यस धारामा पानी लिन आएको पाइयो, जसमध्ये ३२ जनासँग विस्तारित अन्तर्वार्ता गरिएको थियो । घरधुरी सर्वेक्षणमा विदुर खानेपानीको पाइप क्षतिले गर्दा त्यसमा आश्रित ५५ प्रतिशत भन्दा बढी घरधूरीले कष्ट भोग्नु परेको थियो । यद्यपी समुदायद्वारा सञ्चालित साना आयोजनामा पहुँच भएका ८० प्रतिशत भन्दा बढीले खानेपानी अभावको गम्भीर समस्या भोग्नु नपरेको बताएका थिए । भूकम्पले एउटै र ठूला आपूर्ति प्रणालीमा मात्र भरपर्दा हुने जोखिम उजागर गरिदियो ।

१४ पुस २०७७, को इकागजमा प्रकाशित