जलाधार क्षेत्र रुपाकोटमा बर्षा हुनेक्रममा फेरबदल

खोटाङ– खोटाङको जलाधार क्षेत्रकारुपमा रहेको रुपाकोटमा विगत ५५ वर्षको अवधिमा बर्षा हुने क्रममा फेरबदल आएको एक अध्ययनले देखाएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने रुपाकोट क्षेत्रमा साउथ एशिय इन्स्टिच्यूट अफ एड्भान्स स्टडिज (एसआईएएस)ले हालै गरेको अध्यायनकाक्रममा बर्षाको बदलिँदो अवस्था देखिएको हो।

दिक्तेलमा शुक्रबार आयोजना गरिएको ‘दिक्तेल पानीचौतारी जलसुरक्षा चुनौती, अवसर र सम्भावनाहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा एसआईएएसमा आवद्ध डा. दिलबहादुर खत्रीले पर्यटकीय क्षेत्रकारुपमा परिचित रुपाकोट क्षेत्रमा वार्षिकरुपमा औषत ४.७६ मिलिलिटरका दरले बर्षा हुने क्रम घटेको पाइएको जानकारी दिए। ‘रुपाकोटमा बर्षाको बदलिँदो अवस्था देखिएको छ,’ डा. खत्रीले भने, ‘यस क्षेत्रमा वार्षिक औषत बर्षा ४.६७ मिलिलिटर प्रतिवर्षका दरले घटेको पाइएको छ। बर्षायाममा पर्ने पानी ४.३९ मिलिलिटर प्रतिवर्षका दरले र बर्षापछि पर्ने पानी १.६२ मिलिलिटर प्रतिवर्षका दरले घटेको अध्ययनले देखाएको छ।’

यस्तै, विगत ५५ वर्षको अवधिमा रुपाकोट क्षेत्रमा १.१ सेल्सियसका दरले तापक्रम वृद्धि भइरहेको पाइएको साउथ एशिय इन्स्टिच्यूट अफ एड्भान्स स्टडिजले जनाएको छ। बढ्दो तापमानले रुपाकोट क्षेत्रमा खडेरी र सुक्खापना बढाउँदै गइरहेको देखिएको डा. खत्रीले बताए। जलवायु परिवर्तनको असरका कारण प्रतिवर्ष ०.२३ दिनका दरले सुक्खा (पानी नपर्ने दिन) वृद्धि भइरहेको, ठूलो पानी पर्ने दिन (१० एमएम) ०.१० दिनका दरले घटेको र निकै ठूलो पानी पर्ने दिन (२० एमएम) ०.१० दिनका दरले घटेको अध्ययनले देखाएको एसआईएएसले जनाएको छ। ‘रुपाकोटमा विगतका वर्षहरुमा खडेरी पर्नेक्रम बढेको पाएका छौँ,’ डा. खत्रीले भने, ‘रुपाकोट आसपासमा बसोबास गर्ने स्थानीयले लामो समयदेखि टुसारो कम पर्ने गरेको अनुभव गरिरहेको अध्ययनमा देखिएको छ।’

कार्यक्रममा सहभागीले अधिकांश क्षेत्र हराभरा जंगलले ढाकिएको र दर्जनौं खोलाको मुहानकारुपमा रहेको रुपाकोटमा भएका श्रोतमा बढ्दो प्रतिस्पर्धाले जटिलता थपेको र भविष्यमा द्धन्द्ध सृजना हुन सक्ने खतरा रहेको औंल्याएका छन्। बढ्दो जलवायु परिवर्तनको असरले पानीको सुरक्षामा थप चुनौती निम्त्याउने भएकाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पानीको सुरक्षा सुनिश्चित गर्ने र न्यायोचित पहुँच पुर्‍याउने विषय पेचिलो बनेको चर्चा गरिएको छ। साउथ एशिय इन्स्टिच्यूट अफ एड्भान्स स्टडिज (एसआईएएस)का डा. हेमन्त ओझाले पानीको बिकराल समस्या भएका विभिन्न देशले जलसुरक्षाका लागि अपनाएको विधिबारे जानकारी दिँदै जलाधार व्यवस्थापन, आकाशे पानी संकलन, पानीको पुनः प्रयोग, वित्तिय व्यवस्थापन, सहकार्य र संस्थागत संरचना, अनुसन्धान र अनुगमन लगायतमा ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई, नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, रम्वा खोला–माझ खोला शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारी, स्थानीय लगायतको उपस्थिति रहेको थियो।

Available at https://nagariknews.nagariknetwork.com/news/112874/

Published on :Nagarik News, 25 .January.2020