धरानमा खानेपानी जोगाउन ‘रिचार्ज’ !

धरानः धरानमा खानेपानीको समस्या वर्षौदेखिको हो । एडिबीको पानीको अन्त्यहीन प्रतीक्षामा बसेका धराने बासिन्दा अहिले पनि टयाङ्कर र जारकै पानी किनेरै भएपनि जीविका चलाउँदै आएका छन् । यो समस्या यसपटक पनि रह्यो नै ।


अधिकांशका घरमा धारा जोडिएका छन् । तर धाराबाट पानी आउँदैन, आएपनि कम आउँछ, हावामात्रै बढी आउँछ । कतिको धाराबाट पानी आउँछ, तर साताको एक वा दुई दिनमात्रै । आज नभए भोलि आउला भन्दै प्रतिक्षामा बसेका धरानेका धारामा खिया पनि लाग्न थालिसकेका छन् । तर पनि पानी पर्याप्त आउँदैन, कतिपय ठाउँमा त हावामात्रै आउँछ भन्ने गुनासो सुनिन थालिएको छ ।
यसैबीच धरानमा पानीको स्रोत जोगाउनेबारे छलफल र बहस चलिरहेको छ । पानीको दिगो ब्यवस्थापनका लागि धरानमा पनि छलफल चलेको छ । सियासको समन्वयमा ‘पानी चौतारी’ ले धरानका पत्रकारहरुसँग यस्तो छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विशेषतः जल सुरक्षाका लागि जलाधार क्षेत्र र खानेपानी उपभोक्ता बीचको अन्तर सम्बन्धका विषयमा छलफल बढी केन्द्रित थियो ।


धरानमा पानी रिचार्ज हुन नपाउँदा ढुङ्गेधारा, इनार र ट्युबवेलबाट पानी आउन छोडिसकेको जनाइएको छ । कार्यक्रममा पानीको खाँचो टार्ने सबैभन्दा उत्तम विकल्प मानिएको आकाशे पानी सङ्कलन र रिचार्ज प्रक्रिया ब्युँताउनुपर्ने विज्ञहरुले औंल्याएका छन् । कार्यक्रममा विकाससँगै वातावरणीय प्रभावका कारण खानेपानीको स्रोत हराउँदै गएको र स्रोत सुक्दै जाँदा पर्न सक्ने दीर्घकालीन असरका बारेमा गरिएको अनुसन्धानका बारेमा पनि जानकारी दिइएको थियो । सियासको जोड थियो– खानेपानीका मुहानहरु जोगाउन रिचार्ज पोखरीहरुको निर्माण, आकाशे पानीको सङ्कलन र स्रोतहरुको सही ब्यवस्थापन गरे पोखरीमा जम्मा भएको पानी जमिनमा पुगी मुहानहरु रिचार्ज भइरहन्छ र धरानमा पानीको अभाव केही हदसम्म भएपनि टर्छ ।


धरानमा भूमिगत पानीको स्थिति पनि राम्रो नरहेको सियासको निष्कर्ष छ । धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार (पानी) छान्ने दोहोरो रिङ विधि अपनाई सियासले गरेको अध्ययनमा माटोको पानी सोस्ने दर, बजार वरपरको क्षेत्रमा औसत १२४ मिमी/घण्टा र ९ देखि ४०० मिमी/घण्टाको दायरामा छ । सियासले अगाडि भनेको छ, ‘धरानमा उच्च दरमा पानी सोस्ने र यसको पानी नअडिने भिरालोपनका कारण पनि धरानमा पानीको लागि लडाइँ जारी छ ।’ सन २०१६ देखि २०१९ सम्म विभिन्न सहरमा अध्ययन गरेको र धरानमा पनि अध्ययन सकिसकेपछि यस्तो निष्कर्ष निस्किएको सियासका कौस्तुभराज न्यौपानेले जानकारी दिए ।


सियासले धरानमा तीब्र जनसंख्या वृद्धि हुनु, अव्यवस्थित सहरीकरण र जलवायु परिवर्तनले पानीको सहज आपूर्तिमा पनि दीर्घकालीन चुनौती रहेको जनाएको छ । सियासका कौस्तुभराज भन्छन्, ‘जनसंख्या बढेको बढ्यै छ, सन् २००१ देखि २०११ को १० वर्षमा धरानको जनसंख्या ४१ प्रतिशतले वृद्धि भएको केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कमा छ । यसले धरानमा पानीको माग र आपूर्तिबीचको खाडल झन् बढाएको छ नै ।’


धरानमा जलवायु परिवर्तनले पानीको लेयर घट्दो अवस्थामा रहेको र धरानमा सञ्चालित एडिबी प्रोजेक्ट पनि सीमित रहेकोले खानेपानी दिगो हुन नसक्ने जनाइएको छ ।


सियासले जारी गरेको अध्ययन निष्कर्षमा भनिएको छ, ‘केही स्थानीय नेताले तीनवटा कारण देखाउँदै यसको दीगोपनमा शंका गर्ने गरेका छन् । ‘पहिलो जलवायु परिवर्तनले ल्याउने अनिश्चितता, दोस्रो, तीब्र विस्तारित बसोबाससँगै पानीको मागमा डरलाग्दो वृद्धि र तेस्रो, यस्तो प्रणाली सञ्चालन गनृ लाग्ने उच्च लागत र पूर्वाधारको कमीलाई उनीहरूले शंकाको दृष्टिकोणबाट हेरेका छन् ।’ अध्ययन निष्कर्षमा भनिएको छ ।

अब धरानमा रिचार्ज (पुनर्भरण खाल्डो)
‘घर बनाएर केही जमिन खाली छ भने त्यहाँ इनार बनाएर वा खाल्डो खनेर पनी पानी सङ्कलन गरिएपनि धेरै गर्जो टार्न सकिन्छ अर्थात् अन्य स्रोतको पानीको भर परिरहनुसमेत पर्दैन ।’ न्यौपाने भन्छन् । उनी घर वरपर खाली ठाउँ छैन भने सामुदायिकस्तरमा धेरै परिवारको लागि उपयोग गर्न पुग्ने गरी पनि पानी सङ्कलन गर्न सकिने उनले बताए । ‘पुराना घरमा रिचार्ज पिट बनाएर वा इनारबाट पानी पुनर्भरण गर्न सकिन्छ भने सार्वजनिकस्थलमा पनि ट्याङ्की बनाएर वा खाल्डो खनेर पानी पुनर्भरण तथा जमिन रिचार्ज गर्न सकिन्छ ।’


धरानमा खानेपानीलाई दिगो बनाउन र पानीको स्रोत जोगाउन अर्थात् भूमिगत पानी रिचार्जका लागि पुनर्भरण खाल्डो बनाउन अनिवार्य गर्नुपर्ने नीति अवलम्बन गरेको छ ।

‘पानी सोस्ने भूसतह र उच्च वर्षाको फाइदा लिँदै यस्तो नीति अवलम्वन गरेको हो’, धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । धरानमा भूमिगत जलन पुनर्भरण खाल्डो बनाउन अनिवार्य गर्नुपर्नेमा विश्वविद्यालयका प्राज्ञिक सदस्य, भवन डिजाइनर, धरान उपमहानगरपालिकाका प्राविधिक टोलीबीच पानी चौतारीमा सहमति बनेको उनले जानकारी दिए । ‘खासमा बर्खाको पानीलाई जमीनमा रोक्न मात्रै सकियो भने पनि धरानमा खानेपानीको समस्या रहँदैन’, उनले भने ।


सियासका कौस्तुपराजले पुनर्भरण खाल्डो बनाउन सहयोग गर्न सकुन् भनेर निर्माणकर्मी, डकर्मी तथा सिकर्मीलाई अभिमुखीकरण तालिम दिइएको जानकारी दिए । उपमहानगरभित्रका हरेक घरमा एउटा इनार बनाउन सकिने, त्यसका लागि उपमहानगरले पनि सहयोग गरे फलदायी हुने साथै र इनारमा वर्षाको पानी घरको छतबाट सीधै जम्मा गर्ने योजना अघि सार्न सकिने समेत औंल्याइएको छ ।


जमिनमुनिको पानी पुनर्भरण हुन नपाउँदा क्रंक्रिटले जमिनमुनि पानी सोसिन नदिई पानीको स्रोत रित्याउने र जमिनको तापक्रम पनि बढाउने वातावरणविदहरु बताउँछन् । ‘नयाँ घरले अण्डर ग्राउण्ड वाटर रिचार्ज पिट (पुर्नभरण खाल्डो) अनिवार्य बनाए यसले जमिनमुनिको पानीको स्रोत सुक्न दिदैन । रिचार्ज पिटमार्फत् वर्षातको पानी, घरमा प्रयोग गरिएको पानी जमिनमुनि जाँदा रुखविरुवा हराभरा भइरहन्छ । पानीको स्रोत, ढुंगेधारा, कुवा पनि सुक्न पाउँदैन, पानीको सञ्चिती बढ्छ ।’ न्यौपाने भन्छन् ।


यस्तो योजना काभ्रेको धुलिखेलमा समेत सफलरुपमा अघि बढेको सियासको दावी छ । जलवायु परिवर्तन तथा तापक्रम वृद्धिका कारण पानीका मुहानहरू सुकेर समस्या भएपछि काभ्रेमा चलाइएको बर्खाको पानी संकलन गर्ने पोखरी अभियानले सुखद् परिणाम दिएको उनको तर्क छ ।

 

Available at: https://hamrokoshiawaz.com/archives/47864