विदुरको खानेपानी व्यवस्था नमूना

विदुर । विदुर नगरपालिकामा हुँदै आएको खानेपानीको ब्यबस्थापन दक्षिण एशियाकै उदारणिय रहेको एक अध्ययनले देखाएको छ ।

ठुला खानेपानीको आयोजनासँगै स–साना खानेपानी उपभोक्ता समिति मार्फत् हुँदै आएको पानी ब्यवस्थापनले प्रकोप र बिपद्को समयमा पनी पानीको ब्यबस्थापनमा सहजता भएको देखिएको छ । सन् २०१४ देखि अध्ययन सुरु भएको विदुर नगरपालिकामा भारत र नेपालकै ठूला शहरको तुलनामा सहज ब्यबस्थापन भैरहेको अध्ययनले देखाएको हो । हाल भैरहेका पानीको श्रोतको दिगोपना र ब्यबस्थापनमा भने स्थानीय तहले काम गर्नुपर्ने बताईएको छ । साउथ एसिया इन्ष्टिच्युट अफ एड्भान्स्ड् स्टडिज ‘सियास’ले गरेको अध्ययनमा बढ्दो खानेपानीको समस्यामा समेत विदुर नगरपालिकामा सहज ब्यबस्थापन भैरहेको देखाएको छ ।

अनुसन्धानकर्ता कमल देबकोटाले दु्रत गतीमा भैरहेको शहरीकरण जलबायु परिबर्तन सुक्दै गइरहेका पानीका स्रोतहरु र पानीको बढ्दो मागलाई नगरपालिका र अन्य पानी ब्यवस्थापनका सरोकारवालाहरुलाई चुनौतीको रुपमा देखिएको बताए । हाल भैरहेका पानीको मुहान तथा श्रोतको दिगो ब्यबस्थापनको पाटोमा जमिनमा पानीको रिचार्जको पाटो र मुहान संरक्षणको लागी स्थानीय तहले काम गर्नुपर्ने आबाश्यक्ता रहेको बताए ।

अनुसन्धानको क्रममा स्थानीय तहमा मुलुक पुनःसंरचना भएपछि सुरु भएका बिकास निर्माणले समेत पानीको ब्यबस्थापनमा प्रभाब पारेको भेटिएको छ । बढ्दो सडक निर्माण तथा स्तरउन्नतीले भएका पानीका श्रोतहरु सुकेको, मुहान पुरिएका कारण त्यस तर्फ सचेत हुनु पर्ने खोजकर्ता कौस्तुपराज न्यौपानेले बताए ।

साउथ एसिया इन्ष्टिच्युट अफ एड्भान्स्ड् स्टडिज (सियास)ले नेपालका धरान, धुलिखेल, विदुर र भारतका हल्द्वानी र मसुरी सहरमा सन् २०१४ देखि यी सहरहरुको खानेपानी व्यवस्थापनका विभिन्न पक्षहरुलाई समेटेर एक अध्ययन गरेको थियो । विदुरमा बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गर्ने मुख्य प्रणाली बाहेक ३१ वटा स–साना खानेपानी उपभोक्ता समुहहरु रहेको अध्ययनले देखाएको छ ।

अध्ययनका केही निष्कर्षहरु

१. ९० मिनेटको ‘रावल धारा’ अवलोकनको क्रममा ९२ जना उपभोक्ताहरु यस धारामा पानी लिन आएको पाइयो । जसमध्ये ३२ जनासँग बिस्तारित अन्तर्वार्ता गरिएको थियो । अन्तर्वार्तामा सहभागी मध्ये ८२ प्रतिशतले पानी मिठो भएकाले रावल धारामा आउने गरेको बताए । यस धारामा आउने मध्ये ७० प्रतिशत मानिसको घरमा पाइपबाट पानी आए पनि यो धाराको पानी लिन आउने गरेको बताएका थिए । स्थानीय मूलवाट आउने पानी स्वादिलो, ऐतिहासिक र सांस्कृतिक महत्व जोडिएकोले पनि नगरवासीहरू बिच बढी लोकप्रिय रहेको पाइयो ।
२. घरधुरी सर्वेक्षणमा विदुर खानेपानीको पाइप क्षतिले गर्दा त्यसमा आश्रित ५५ प्रतिशत भन्दा बढी घरधूरीले कष्ट भोग्नु परेको थियो । यद्यपी समुदायद्वारा सञ्चालित साना आयोजनामा पहुँच भएका ८० प्रतिशत भन्दा बढीले खानेपानी अभावको गम्भीर समस्या भोग्नु नपरेको बताएका थिए । भूकम्पले एउटै र ठूला आपूर्ति प्रणालीमा मात्र भरपर्दा हुने जोखिम उजागर गरिदियो ।
३. नगर खानेपानी आयोजनाको पहुँचसम्म पुग्न नसक्ने तथा निम्न आय भएका गरिब तथा सुकुम्बासी बस्तिको लागि स्थानीय स्रोतहरू एक मात्र खानेपानीको विकल्प रहेका थिए ।
४. विदुर नगरक्षेत्रमा खानेपानी व्यवस्थापनको वर्तमान देखि ऐतिहासिक पृष्ठभूमिसम्म हेर्दा विविधतायुक्त पानी आपूर्ति प्रणाली जल सुरक्षा रणनीतिको लागि महत्वपूर्ण रहेको पुष्टि हुन्छ ।
५. भविष्यमा आउने जोखिम र असामान्य परिस्थितिमा पनि पानीका विविध स्रोतमा आधारित प्रणालीको प्रयोग एउटा महत्वपुर्ण र प्रभावकारी पानी व्यवस्थापन रणनीति बन्न सक्दछ ।

नीतिगत सुझावहरु :

१. हिमालय क्षेत्रमा अवस्थित सहरको लागि बहु–स्रोत र बहु–प्रणालीयुक्त पानी आपूर्ति नीति प्रवद्र्धन गर्न ‘विदुर मोडले’ उपयोगी हुन सक्ने देखियो जसमा सरकारी, सामुदायिक, निजी क्षेत्रको पानी आपूर्ति प्रणालीहरू सँगसँगै चल्न सक्छन् ।
२. समुदाय र नगरतहमा निरन्तर अनुसन्धान गर्ने, त्यसबाट आर्जित तथ्य र प्रमाणका आधारमा छलफल गर्ने, सुसूचित भएर योजना निर्माण गर्ने परिपाटीका लागि ‘पानी चौतारी’ जस्ता प्लेटफर्म संचालन गर्नु धेरै उपयुक्त हुन्छ ।
३. हाल भइरहेको र भविष्यमा हुन सक्ने पानीको मागलाई मध्यनजर गर्दै नगरपालिकालाई एउटा वृहत जलसुरक्षा रणनीतिको खाँचो छ ।

१४ पुस २०७७, को खबर पेज अनलाईन पत्रिकामा प्रकाशित