धुलिखेलमा पानी चौतारीको छैठौँ श्रृंखला, ‘वाटर काउन्सिल’ को प्रस्ताव

87876379 200570704344590 3924629428755234816 N Scaled

धुलिखेल नगरपालिकाले पानीको दिगो ब्यवस्थापनका लागि संचालन गरिरहेको ‘धुलिखेल पानी चौतारी’ को छैठौँ श्रृंखला जल सुरक्षाका लागि जलाधार क्षेत्र र खानेपानी उपभोक्ता बीचको अन्तर सम्वन्धका बारेमा छलफल गरेको छ ।

सियासको समन्वयमा आयोजना गरिएको कार्यक्रममा सरोकारवाला पक्षहरुको सहभागिता रहेको थियो । धुलिखेल नगरपालिकामा जुद्ध शमशेरको समय देखि खानेपानीको ब्यवस्थापन हुँदै आएको थियो । अहिले पनि धुलिखेल नगरपालिकाले जुद्ध शमशेरको धारालाई संरक्षण गरिरहेको छ । जुद्ध धारा लगत्तै भारतिय दुतावासले धुुलिखेलको खानेपानी ब्यवस्थापनमा सहयोग गरेको थियो । पछि जर्मन सरकारले गरेको सहयोगले धुलिखेल नगरपालिकामा खानेपानीको ब्यवस्थापन हुँदै आएको छ । खानेपानीको ब्यवस्थापनका लागि काभ्रे उपत्यका एकिकृत खानेपानी, नगरपालिकाको तर्फबाट विभिन्न श्रोतहरुको पहिचान गरी ब्यवस्थापन भईरहेको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनु भयो । घरहरु थपिदै गएको र पानीको माग बढ्दै गए पनि श्रोतहरुको संरक्षण हुन नसक्दा ब्यवस्थापनमा कठिनाई हुँदै गएकाले नगरपालिकाले विभिन्न श्रोतहरुको पहिचान गरी संरक्षण गर्ने अभियान शुरु गरेको उहाँले बताउनु भयो ।

छलफल कार्यक्रममा पानी चौतारीमा रहेर पानी र शहरीकरणका सवालमा केन्द्रिकृत हुने गरी अनुसन्धानबाट आएका सिकार्यको उपयोग गरी नगर क्षेत्रको पानी ब्यवस्थापनको योजना तर्जुमा गर्दा क्षमता अभिबृद्धीका लागि सहजीकरण गर्दै आएको सियासका कार्यकारी निर्देशक दिल खत्रीले बताउनु भयो । सियासले यस अघि पानी चौतारीको अवधारणा, पानी ब्यवस्थापनमा प्रविधिको प्रयोग, जमिन मुनिको पानीको पुनर्भरण, पानीको ब्यवस्थापनमा नीजि क्षेत्र र पानी ब्यवस्थापनमा महिलाका सवालका बारेमा पाँचवटा श्रृंखला संचालन गरिसकेको सियासका कमल देवकोटाले जानकारी दिनु भयो । धुलिखेल–बनेपा–पनौती क्षेत्रमा थपिदै गएको जनसंख्या, धुलिखेल नगर भित्र बढ्दै गएका होटल तथा लज, विश्वविद्यालय, अस्थायी जनसंख्याले पानीको उपभोग बढ्दै गएको अनुसन्धानले देखाएको छ ।

87667494 883425762094687 8247510636334940160 N Scaled

 

धुलिखेलमा खारखोलाबाट ८४ प्रतिशत, स्थानीय मुलहरुबाट ११ प्रतिशत र जमिन मुनीबाट ५ प्रतिशत पानी संकलन हुँदै आएको छ । पानी पर्ने बार्षिक दर ६.२९ मिलिमिटर घट्दै गएकाले मुहानहरुको संरक्षणका लागि ध्यान पुर्‍याउनु पर्ने सरोकारवालाहरुले सुझाव दिएका थिए । सियासका कौस्तुभराज न्यौपानेले खानेपानी ब्यवस्थापनमा अन्तराष्ट्रिय तथा राष्ट्रिय अभ्यासहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

जलाधर क्षेत्रमा पानीको ब्यवस्थापन गर्न हालसम्म भएका पहल तथा कृयाकलापहरु, दिगो जल सुरक्षाका लागि जलाधार क्षेत्रको ब्यवस्थापन गर्न नीतिगत ब्यवस्था, तल्लो र माथिल्लो तटको सम्वन्ध सुमधर बनाई दिगो पानी ब्यवस्थापनका लागि संस्थागत संरचनाका बारेमा पानी चौतारीमा छलफल भएको थियो ।

पनौती १२ का वडा अध्यक्ष इश्वर जंगमले मुहान श्रोत संरक्षण गर्ने, प्रभावित क्षेत्रका बासिन्दाहरुको आवाज सम्बोधन गरी दिर्घकालिन रुपमा समाधान गर्न ब्यवसायीकता तर्फ सहयोग गर्ने, योजना सम्पन्न गर्न भन्दा पनि योजनालाई टिकाईराख्न ध्यान दिन, खानी र पानीको सम्वन्ध अलग अलग गर्न सुझाव दिनु भएको थियो । पानीको मुहान र खानी संचालन एकै स्थानमा भएकाले त्यसबाट निम्तिन सक्ने संकट रोक्न समयमै ध्यान दिनु पर्ने उहाँले बताउनु भयो । स्थानीय युधिस्ठिर केसी, काभ्रे एकिकृत खानेपानी बोर्डका सदस्य सचिव प्रतित्रा मानन्धर, सामाजिक शाखा प्रमुख कृष्णप्रसाद कायश्थ, धुलिखेल खानेपानी उपभोक्ता समितिका प्रवन्धक रामेश्वर पराजुली, स्थानीय गायत्री खड्का, काभ्रे उद्योग बाणिज्य संघका महासचिव कैलाश पलाञ्चोके लगायतले पानी चौतारीले मुहान क्षेत्र र उपभोग गर्ने क्षेत्रका नागरिकहरु बीचको सम्वन्धलाई अझै मजबुत गराउन सहयोग पु¥याएको बताउनु भयो ।

87796718 2330598323900788 3368781985441906688 N Scaled

 

नगर प्रमुख अशोक ब्याञ्जुले मुहान क्षेत्र र उपभोग गर्ने क्षेत्रका नागरिकहरु बीच लिने र दिनेको मात्रै सम्वन्ध नभई हरेक समस्या समाधानका लागि ‘वाटर काउन्सिल’ बनाउने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । उक्त काउन्सिलले सबै पक्षको सहभागिता रहने र काउन्सिलले हरेक विषयको सम्बोधनका लागि प्रयास गर्ने गरी अवधारणा बनाएको उहाँले बताउनु भयो ।

१५ फाल्गुन २०७६, बिहीबारको नेपाल समाचारपत्रमा प्रकाशित