Blog

पातलिँदो गाउँ बदलिँदो स्वरूप

कात्तिक महिनाको मध्यतिर रामेछाप र दोलखा जिल्लाको ६ गाउँको भ्रमण गर्ने अवसर मिल्यो । भ्रमणको मुख्य उद्देश्य जीविकोपर्जनका लागि गाउँलेले गर्ने श्रम तथा आर्थिक लागानी, वन संरक्षणको विधिमा आइरहेको परिवर्तन र निरन्तरताबारे खोजी गर्नु थियो । यसका लागि रामेछापको च्याक्सु, चिसापानी, खिम्ती, रस्नालु, र दोलखाको कलङ तथा भिरकोट गाउँको छनोट
गरिएको थियो ।

कृषि नेपालीको जीविकोपार्जनको प्रमुख स्रोत हो । कृषकले परापूर्वकालदेखि नै भूमिमा लागानी गर्दै आइरहेका छन् र त्यसको संवद्र्धनका लागि विभिन्न किसिमका पारम्परिक विधिको विकास पनि गरेका छन् । तर, बदलिँदो परिस्थितिमा निर्वाहमुखी कृषिमा युवाको चासो उल्लेख्य घटेको छ । हामी पुगेको सबै गाउँका युवाले आफ्नो श्रम स्थानीय भूमिमा खर्चनुभन्दा विदेश गएर मजदुरी गर्न र आम्दानी गर्न चाहेको पाइयो ।

स्थानीय सामुदायिक वनका जति पनि कार्यकारी समितिका सदस्य तथा घरमूलीसँग छलफल, अन्तर्वार्ता गरिन्थ्यो उनीहरूको जवाफ हुन्थ्यो– काम गर्न सक्ने युवाको कमीका कारण जमिनको ठूलो हिस्सा बाँझो राखिएको छ । तीमध्ये अधिकांश बाँझो जमिनलाई जंगलले ढाकिसक्यो । बचेका भूमिमा सीमित श्रमको भरमा लगाइएको खेतीपातीमा पनि बाँदर र अमेरिकन फौजी किराको आक्रमणले ध्वस्त बनाइरहेको छ ।

तर, कलङ र रस्नालु गाउँमा बढ्दै गइरहेको व्यावसायिक किवी खेती तथा त्यसको बढ्दो बजारले युवा र कृषकलाई आकर्षित गरिरहेको छ । यी गाउँमा व्यावसायिक रूपमा आलु खेती, च्याउखेती, कुखुरापालन, तरकारी खेती तथा गाईपालनप्रति आकर्षण बढेको स्पष्ट महसुस गर्न सकिन्छ । यी गाउँमा नगदेबाली किन पनि फस्टाउन सकेको हो भने मन्थली, जिरी र चरिकोटजस्ता त्यस क्षेत्रका ठूला बजार यहाँदेखि नजिक पर्छन् ।

कृषकले भूमिमा लगानी गर्न छोड्ने हो भने भविष्यमा हामी आयातीत खाद्यान्नमा भर पर्नुपर्ने हुन्छ ।

साथै, यी गाउँमा कालोपत्रे सडकको सञ्जालले पनि महत्वपूर्ण भूमिका खेलेको देख्न सकिन्छ । यसले परम्परागत कृषि लगानीमा परिवर्तन हुन लागेको झल्को पनि त्यति नै दिन्छ । साथै, यी बाली लगाउन तथा भित्र्रयाउन कम संख्यामा मजदुर चाहिने तथा यी जिल्लाको माटो तथा हावापानी किवी तथा आलु खेतीसुहाउँदो भएकाले पनि कृषक उत्साहित भएका हुन् ।

सीमित कृषकका उदाहरणीय कामले भूमिमा लगानी र भूमिको सदुपयोग भएको भए पनि गाउँबाट युवाको पलायन र बढ्दो बाँझो जमिनले गाउँले जीवन निरस नै हुन पुगेको छ । गाउँमा खेतीपाती तथा पशुपालनमा ह्रास आएकाले जीविकोपार्जनका लागि जंगलको पनि महत्व घट्न थाल्यो । घर निर्माणमा सिमेन्ट, इट्टा र रडको प्रयोग बढ्नाले गाउँमा वनको प्रयोग घटेको हो । सामुदायिक वनका कार्यकारी सदस्यले स्पष्ट रूपमा हिजोआज वनको संरक्षण र निरीक्षण पहिलेभन्दा घटेको कुरा सुनाए ।

बाँझो जमिनमा वन बढेको र आफ्नो सीमित आवश्यकता त्यहीँबाट पूरा हुने भएकाले पनि सामुदायिक वनमा गएर घाँस दाउरा काट्ने क्रम घटेको छ । सामुदायिक वन समितिको विगत ३० वर्षको मिहिनेतले वनको संरक्षण राम्रैसँग भइरहेको थियो । बाँझो जमिनमा रूख–बिरुवा उम्रिनाले वा लगाउनाले पहाडी जिल्लामा वनजंगलको मात्रा ह्वात्तै बढेको छ । सबै गाउँले तथा समितिका सदस्यले वनजंगल बढेको कुरा स्पष्ट रूपमा बताएका थिए ।

वनजंगल बढ्नु वातावरणीय हिसाबले राम्रै हो, तर वन्यजन्तुको वृद्धि र त्योसँगै बढेका वन्यजन्तु गाउँ पस्ने र तिनले किसानको बालीमा क्षति पु-याउँदा समस्या देखिएको छ । अहिले वनजंगलमा बाँदर, दुम्सी, मृग र लोखर्केको उल्लेख्य वृद्धि हुँदा तिनले धान, मकै, कोदो, आलु, फापर तथा तराकारी खेती ध्वस्त पर्ने गरेकाले गाउँले अत्यन्तै चिन्तामा रहेका छन् । बाँदरको हुलले युवाविहीन गाउँका वृद्धवृद्धालाई झम्टने, हमला गर्ने गरेको पनि अध्ययनमा पाइयो । च्याक्सु, रस्नालु र भिरकोटका बासिन्दाले बाँदर आतंकका कारण जंगलछेउको खेतबारी बाँझो राख्न बाध्य भएको बताए ।

केही कृषकको उदाहरणीय कामबाहेक गाउँको भूमिमा लगानी गर्ने र त्यसमै पूर्ण रूपले भर पर्ने क्रम पहिलेको भन्दा धेरै घटेको पाइयो । यद्यपि बजारनजिक र सडकको सहज पहुँच भएको ठाउँमा नगदेबालीको विकास भइरहेको माथि नै उल्लेख गरिसकिएको छ । तर, यसको संरक्षण र व्यावसायिक संवद्र्धनमा सरकारी निकायको निरन्तर सहयोग आवश्यक देखिन्छ । कृषकले भूमिमा लगानी गर्न छाड्ने हो भने भविष्यमा हामी आयातीत खाद्यान्नमा भर पर्नुपर्ने हुन्छ, जुन देश र नागरिकका लागि राम्रो संकेत होइन ।

(लेखक अनुसन्धानकर्ता हुन्)

Published on : Naya patrika, Tuesday, 11 February, 2020