Blog

केस स्टडी खोटाङ- खै पानी ?

– डा.गोविन्द पौडेल

मिति बिर्सें, २०५८ सालतिर हुनुपर्छ । ओखलढुंगा बजारको कुनै चियापसलमा थिएँ । छेउमा तीनचार जना अलिक चर्कै स्वरमा बोलिरहेका थिए । दाजुभाइबीचको घरायसी विवाद थियो सायद । तिनैमध्ये एक जना चै ‘बरु पानीमात्रै खाएर बस्छु, त्यो (भाइमारा)सँग निहुरिन जान्न’ भन्दै जंगिए । उनको भनाइबाट बुझिन्थ्यो, विवाद गम्भीर मोडमा पुगिसक्यो र मेलमिलाप हुन गाह्रो छ । अलि गहिरिएर सोच्ने हो भने उनी अरु केही नपाइए पनि पानी चै पाइन्छ भन्नेमा ढुक्क देखिन्थे । अर्थात जस्तै संकट परे पनि पानीको अभाव हुन्न र पानीकै लागि अरुसँग निहुरिन पर्दैन ।

यो आलेखमा म दाजुभाइबीचको त्यो तीतो घरायसी झगडाको अन्तर्यमा जान्न, अरु कुनै प्रसंगमा लेखौंला । यहाँ उनले किन ‘बरु पानीमात्रै खाएर बस्छु’ भने र उनमा अरु केही नहोला, पानी त हुन्छ, हुन्छ भन्ने त्यो आत्मविश्वास कसरी जाग्यो भन्नेतिरबाट सुरु गर्छु ।

सदियौंदेखि हाम्रा परम्परा, रीतिथिति, चालचलन, हिन्दू ग्रन्थहरुमा उल्लेख गरिएका जन्म र मृत्‍युलगायत सोह्र संस्कार, धार्मिक र पैतृक विधिविधान र जीवन जिउन गरिने अनेक कर्महरु पानी सर्वसुलभ छ, पानी सञ्चित गरिराख्न पर्दैन, पानीको लोभ कसैले गर्दैन र पानी प्राप्त गर्न केही कठिनाइ पर्दैन भन्ने मान्यतामा बनेका देखिन्छन् । यसो हुनाले उनलाई पानीकै लागि त दाजुसँग पक्कै पनि म्याउँम्याउँ गर्न पर्दैन भन्ने लाग्यो होला । त्यतिमात्रै होइन, हाम्रा नित्यकर्म (हातमुख धुने, नुहाउने, जपतप आदि), अनित्यकर्म (चाडवाड, तिथि श्राद्ध, बिहा ब्रतवन्ध आदि) र काम्यकर्म (जीविकोपार्जन, अर्थाेपार्जन, इन्द्रीय सुख आदि) गर्दा पानी सबैतिर, सबैले, विनापौरख र विनालगानी, सजिलोसित प्राप्त गर्न सक्छन् भन्ने मान्यतामा बनेका छन् । श्रीमदभावगत गीतामा भगवान श्री कृष्ण भन्नुहुन्छ-

पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति ।
तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मनस् ।।२६।।

अर्थात- मलाई कसैले भक्तिपूर्वक पानीमात्रै अर्पण गरे पनि म खुशीसाथ स्वीकार गर्छु ।

माथिको श्लोकमा पत्रं (पात), पुष्पं (फूल), फलं (तुलफूल) नभएमा अथवा यी सामग्री जुटाउन आर्थिक या शारीरिक अशक्तताको कारण सम्भव भएन भने पनि भक्तहरुले पवित्र भावनाले पानीमात्र अर्पण गरून् भन्ने भाव देखिन्छ । अर्थात पानी सर्वत्र सर्वसुलभ छ । जस्तैः संकट र गरिबीमा पनि पानी उपलब्ध हुन्छ भन्ने देखिन्छ ।

हामीले हाम्रो जीवनशैली, रीतिथिति, जीविकोपार्जन र आफैंलाई पनि पानीको अभाव हुने कठिन परिस्थितिको लागि तयार गरेका छैनौं । त्यसकारण पानीको अभाव हुनेबित्तिकै हामी र हाम्रा जीविकाका माध्यमहरु संकटमा परिहाल्छन् ।

पौराणिक कथाहरुमा पनि पानीको अभाव हुन्छ या हुनसक्ला भन्ने कल्पना गरिएको देखिँदैन । उदाहरणको लागि परापूर्वकालदेखि नै चलिआएका, मानिआएका केही अभ्यासहरु हेरौं । जलाहार (पानीमात्र खाएर गरिने व्रत, तपस्या), जलवास (हिउँदमा सकेसम्म घाँटीसम्म, नत्र नाइटोसम्म पानीमा डुबेर गरिने तपस), जलदेवता (पानीभित्र बस्ने देवता), जलाञ्जली (दुई हातले उठाएर पानी अर्पण गर्ने), जलारी (माछा मारेर जीविका चलाउने), जलधारा (अटूट रुपमा पानीको धाराले देवमूर्तिको स्नान गराउने), जलाचार (पानीको प्रयोगले गरिने उपचार), आचमन (पानी सेवन गरेर पवित्र हुने), कलश स्थापना (पानीले भरिएको घडा), तर्पण (पानी अर्पण गरिने पितृकर्म), जलजप (पानीमा डुबेर गरिने मन्त्रोच्चारण), काम्यासन (पवित्र पानीमा डुबेर गरिने अभ्यास, स्नान) जस्ता तन, मन, मस्तिष्क र विचारलाई स्वस्थ र अब्बल राख्न गरिने साधनाहरुको वर्णन गरिएको छ ।

यसरी हेर्दा पौराणिक कालदेखि जानीमानी आएका दैविक, पैतृक र व्यवहारिक कर्महरु पानीविना सम्पन्न हुँदैनन् । अथवा भनौं, पानीको अभाव हुन्छ वा हुन सक्ला भन्ने कल्पना नगरी बनेका या बनाइएका छा् । हामी, हाम्रा परम्परा, हाम्रो सोचाइ पानीको अभाव हुन्छ, हुनसक्छ भन्नेमा नभै पानी प्रचुर मात्रामा सजिलै उपलब्ध हुन्छ भन्ने आधारमा बनिआएका छन् । हामीले हाम्रो जीवनशैली, रीतिथिति, जीविकोपार्जन र आफैंलाई पनि पानीको अभाव हुने कठिन परिस्थितिको लागि तयार गरेका छैनौं । त्यसकारण पानीको अभाव हुनेबित्तिकै हामी र हाम्रा जीविकाका माध्यमहरु संकटमा परिहाल्छन् ।

हाम्रा धार्मिक, सांस्कृतिक, आध्यामिक र व्यवहारिक कर्महरुमा पानी अत्यावश्यक वस्तु हो र पानी प्रशस्तै उपलब्ध हुन्छ भन्ने मान्यता छ भन्नेबारेमा माथि उल्लेख गरियो । त्यतिमात्रै हैन, पृथ्वीको दुई तिहाइभन्दा बढी क्षेत्रफल पानीले ढाकिएको छ । संसारभरिको पानीमध्ये ९५ प्रतिशतभन्दा बढी पानी औसत गहिराइ नै चार-पाँच किलोमिटर भएका विशालतम महासागरहरुमा रहेको छ । बाँकी ५ प्रतिशत पानी हिमाल र ध्रुवीय हिमखण्डमा र भूमिगत जलभण्डारको रुपमा सञ्चित छ । यसरी हेर्दा पृथ्वीमा पानीको अभाव नहुनु पर्ने हो । तर, पछिल्लो समयमा स्वच्छ खानेपानी हामीले सोचे जति सर्वसुलभ भैरहेको छैन ।

माथि भनिए झैं पृथ्वीको सतह जमिनभन्दा बढी पानीले ढाकिएको भए पनि वर्तमान समयको विश्वमा मानिसहरुलाई पानी सर्वसुलभ रहेन । पृथ्वीमा रहेको ९५ प्रतिशतभन्दा बढी पानी नुनिलो छ, खान र खेतीपातीमा प्रयोग गर्न मिल्दैन, सकिँदैन । जमिनमुनि रहेको भूमिगत र हिमाल तथा ध्रुवीय हिमखण्डको पानी प्राप्त गर्न दुरुह छ । असाध्यै थोरै पानीमात्र भू-सतहमा रहने हुनाले मानिस, वनस्पति या अन्य जीवजन्तुहरुको लागि उपलब्ध हुन्छ । पहाडी र हिमाली भेगमा भूमिगत पानी उपलब्ध हुन गाह्रो छ । ठूला नदी र खोलाहरु वेंसी, खोंच र पहाडका फेदीमा बहने हुनाले माथिल्लो भेगमा खानेपानी र खेतीपातीको लागि आकाशे पानी, ससाना मूल, खोल्सी र जरुवाको पानीमा भर पर्नुको विकल्प छैन ।

यसकारण पृथ्वीमा पानी प्रचुर मात्रामा भए पनि शुद्ध पानी सबैतिर सजिलै उपलब्ध छैन । शुद्ध पानीको अभावमात्र हैन, विकल्प पनि छैन । पानीको विकल्प पानीमात्रै हो र पानीविना जीवन सम्भव छैन । हाम्रो शरीरको दुई तिहाइ तौल पानीको हुन्छ । पानीविना जीवकोष जीवित नरहने हुनाले पानी पिउन पाइएन भने हाम्रो अस्तित्व केही दिनसम्मका लागिमात्र हो । पानी नभए न खेतीपाती रहन्छ, न जीवजन्तु जीवित रहन्छन्, न त बोटविरुवा बाँच्न सक्छन् । आधुनिक विज्ञानले समेत पानीको विकल्प दिन नसकेकोले पानी नहुने हो भने पृथ्वी जीवशून्य रहने निश्चित छ । त्यसैले होला मानिसहरु तेस्रो विश्वयुद्ध हुने हो भने पानीकै कारणले हुन्छ भनेर विश्वास गर्छन् ।

पृथ्वीको सतह जमिनभन्दा बढी पानीले ढाकिएको भए पनि वर्तमान समयको विश्वमा मानिसहरुलाई पानी सर्वसुलभ रहेन । पृथ्वीमा रहेको ९५ प्रतिशतभन्दा बढी पानी नुनिलो छ, खान र खेतीपातीमा प्रयोग गर्न मिल्दैन, सकिँदैन । जमिनमुनि रहेको भूमिगत र हिमाल तथा ध्रुवीय हिमखण्डको पानी प्राप्त गर्न दुरुह छ ।

हाम्रा पहाड पर्वत, हिमाल, चुरे भावर र तराईमा समेत पानीका मूलहरु सुक्दैछन् । भूसतहमाथि रहेका पानीका यी मूलहरु मात्रै सुकेका हैनन्, भूमिगत पानीको सतहसमेत दिनानुदिन घट्दै गैरहेको छ भन्ने रिपोर्टहरु आइरहेका छन् । यसै सन्दर्भमा अध्ययन अनुसन्धानमा दशौं वर्ष लागेको काठमाडौंस्थित साउथ एसिया इन्स्टिट्युट अफ अड्भान्स स्टडिज भन्ने संस्थाले खोटाङ जिल्लाका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग मिलेर गरेको अध्ययन, खोटाङ जिल्लाका दिक्तेल र हलेसी आसपासका क्षेत्रमा पानीकै विषयका अध्येताहरुले गरेका स्थलगत अध्ययन, स्थानीय सरकारका प्रतिनिधि र स्थानीय जनताको आँखाबाट पानीको अवस्था, पानी अभावले सिर्जना गरेका समस्याहरु र समाधानका उपायहरु के हुन सक्लान भन्ने विषय समेटेर यो आलेख तयार गरिएको छ ।

अन्यत्र झैं दिक्तेल आसपासमा बसोबास गर्ने मानिसहरुले यो क्षेत्रमा खानेपानीका स्रोत सुक्दै गएको कारणले पानीको अभाव दिन प्रतिदिन बढ्दै गएको अनुभव गरिरहेका छन् । पानी किन घट्दै गैरहेको छ अथवा पानीका मूलहरु किन सुक्दैछन् भन्नेबारेमा मानिसहरुका आआफ्ना विचारहरु छन् । सबैको एकमत छैन । धेरैजनालाई जलवायु परिवर्तनको कारणले पानीको समस्या बढेको हो भन्ने लाग्दोरहेछ । धेरैले जथाभावी विकासका संरचना बने, वनजंगल मासिँदै गयो, पानीका मूलहरुको संरक्षण हुन छाडेकोले गर्दा पानीको अभाव बढेको जस्तो लागेको बताए ।

स्थानीय छिरिङ शेर्पालाई त मानिसहरुले पुर्खादेखि मानिआएका देवीदेवताहरुलाई बेवास्ता गरेको र मान्छेले आफ्नो धर्म निर्वाह नगरेको हुनाले भगवानले मानिसहरुलाई सबक सिकाउन पानीको मूल सुक्दै गएको भन्ने विश्वास लागेको छ । उनले थपे, ‘यी यो वनजङ्गलले ढाकिएको, कहींकतै डिस्टाप नभएको यो खोल्सीको पानी के कारणले घट्यो त ? न यहाँ खेतीपाती छ, न घरगाउँ, शहर बसेको छ, न रोड न त विकास । यस्तो ठाउँमा नि छैन त पानी खै ? देउतै रिसाएरै त पानी सुकेको होला ।’

खानेपानीका परम्परागत स्रोतहरु जस्तैः जरुवा, कुवा, ढुंगेधारा, खोला, खोल्सा र नदीहरुमा साविक आइरहने जति पानी नआउने भइसकेछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई पनि पानी अभावको यो अवस्थाबाट अनभिज्ञ हुने कुरै भएन । उहाँले एक प्रसंगमा भन्नुभयो, ‘दिनप्रतिदिन हामीले हेरिरहेका छौं, जलवायु परिवर्तनको कारणले जति हिउँ पर्नुपर्ने हो, पर्न छोड्यो । कोशी सुकिरहेको छ । खोला खोल्साहरु सुकिरहेका छन् । खोलाबाट तानेर पानी ल्याउला भन्न त सकिन्छ । तर, त्यो धेरै महँगो पर्ने योजना हो । त्यसमाथि खोलैमा पानी सुक्यो भने कहाँबाट तान्ने ? त्यसैले हामीले अहिलेदेखि नै पानीका स्रोत संरक्षण गर्ने गरी अगाडि बढेनौं भने आउँदा दिनहरुमा समस्या अझै विकराल नहोला भन्न सकिन्न । नगरपालिका यो विषयमा गम्भीर छ, योजना तर्जुमा गरी स्रोत छुट्याएरै समस्या समाधान गर्न सरोकारवाला र विषयविज्ञहरुसँग सहकार्य गर्न सदैव तयार छ ।’

के कारणले पानी सुक्दै गैरहेको होला भन्ने विषयमा एकमत हुन नसके पनि पानीका मूलहरु सुक्दै गएका, नदी, खोला, खोल्सीहरुमा पानीको मात्रा घट्दै गैरहेको र पानीको अभावले जनजीवन नराम्ररी प्रभावित भएकोमा चाहिँ सबै एकमत देखिए । बजार क्षेत्रलाई पानी सप्लाई गर्न माथिल्लो भेगमा रहेका पानीका स्रोतलाई एकत्रित गरेर खानेपानी योजनाहरु बनिरहेका छन् । विनाअध्ययन र योजना जथाभावी बनाइएका विकासका पूर्वाधारहरु, बढ्दो शहरीकरण, स्थानीय जनताको पिरमर्का र आवश्यकतालाई ध्यान नदिइ, पानीको स्रोत भएका क्षेत्रको भू-उपयोगको अध्ययन नगरी, पानीका मूलहरुको संरक्षणमा ध्यान नदिइकन खानेपानीका योजनाहरु बन्दा माथिल्लो र तल्लो भेगका समुदायबीच असमझदारी बढिरहेको देखिन्छ ।

पानी नभए न खेतीपाती रहन्छ, न जीवजन्तु जीवित रहन्छन्, न त बोटविरुवा बाँच्न सक्छन् । आधुनिक विज्ञानले समेत पानीको विकल्प दिन नसकेकोले पानी नहुने हो भने पृथ्वी जीवशून्य रहने निश्चित छ । त्यसैले होला मानिसहरु तेस्रो विश्वयुद्ध हुने हो भने पानीकै कारणले हुन्छ भनेर विश्वास गर्छन् ।

त्यसमाथि संघीय र प्रदेश सरकारमार्फत सञ्चालन हुने खानेपानीका योजनाहरु बन्दा, स्थान छनोट, बजेट विनियोजन हुँदासमेत सम्बन्धित नगरपालिका र गाउँपालिकासँग समन्वय नगरी हठात कार्यान्वयनमा लगिने अभ्यासले गर्दा स्थानीय आवश्यकता र भौगोलिक उपयुक्तअनुसार योजनाहरु नबन्ने, बनेका या बन्न लागेका योजनाहरु विवादित हुने र पानीको आपूर्ति र वितरण प्रभावकारी भएका छैनन् । खानेपानीको व्यवस्थापन भनेकै ट्यान्की बनाउने, पाइप ओच्छ्याउने र मोटरले पानी तानेर वितरण गर्ने हो भन्ने जस्तो यान्त्रिक र एकांकी बुझाइ देखिन्छ । पानीको मूल संरक्षण गर्ने, पानी मूल भएको क्षेत्रको भू-उपयोग र पानी रिचार्ज गर्नु पनि खानेपानी व्यवस्थापनको अभिन्न अंग हो भन्ने कुरालाई नजरअन्दाज गरिएको छ ।

पानीको अभाव भएपछि पानीको जोहो गर्न मानिसहरुले हरेक दिन समय छुट्याएरै लाग्नुपर्ने हुन्छ । धारा र कुवाहरुमा घन्टौं पालो पर्खिन पर्ने, बोकेर घरसम्म ल्याउने, घरमा भएभरका भाँडामा पानी भरेर जगेडा राख्ने जस्ता काममा नलागी नहुने भएपछि घरमा जहिल्यै कामको बोझ भैरहनु स्वाभाविक नै भयो ।

प्राकृतिक स्रोत व्यवस्थापन र लैंगिक समानताको क्षेत्रमा अध्ययनरत ज्ञानु मास्केको विचारमा पानीको यस्तो अभावले महिलाहरु बढी पीडित भैरहेका छन् । उहाँ भन्नुहुन्छ- ‘घरायसी कामहरु प्रायःजसो महिलाहरुले नै गर्नुपर्ने हुनाले एकातिर महिलाहरुमा कामको बोझ थपिने तर पानी व्यवस्थापनको निर्णयात्मक भूमिकामा पुरुष सदस्यहरूको वर्चस्वले गर्दा निर्णय प्रक्रियामा महिलाहरूको अर्थपूर्ण सहभागिता नहुने हुनाले पानीको अभावले पुरुषभन्दा महिलाहरु नै बढी प्रताडित हुन्छन् ।’

संसारमै जलस्रोतको धनी देशहरुमध्येमा गणना गरिए पनि अथवा संविधानमा स्वच्छ खानेपानी पाउनु नागरिकको नैसर्गिक अधिकार हो भनेर लेखिए पनि खानेपानीको अभाव र यसले जनमानसमा पार्ने समस्या दिनप्रतिदिन बढ्दो छ । खोटाङमा त यो समस्या धेरै नै पेचिलो देखियो । वन र वातावरणको क्षेत्रमा लामो समयदेखि काम गरिरहनुभएका राजेन्द्र राईले खानेपानीको अभावले गर्दा मानिसहरुले आफ्नो थातथलो नै छाडेर बसाइ सर्नुपरेको व्यथा सुनाए । उहाँले भन्नुभयो- ‘पानीको अभावले आजित भएर विजयखर्क, हलेसी, राजापानी, मिटुङ जस्ता ठाउँहरुबाट मानिसहरु अन्यत्र बसाइ सरिरहेका छन् । पानीको समस्या, त्यसमाथि जंगली जनावरको प्रकोप कतिञ्जेल झेल्न सकिन्छ र ?’

राजापानी, धितुङ, डिकुवा, हलेसी विजयखर्क, बतासेलगायत जिल्लाका अन्य ठाउँमा पनि पानीका मुहान सुक्ने र मानिसहरुले घरबास छोडेर हिँड्नुपर्ने स्थिति देखियो । पानीको अभावले थातथलो नै छाडेर हिँड्नु भनेको चानचुने समस्या होइन ।

खानेपानीको व्यवस्थापन भनेकै ट्यान्की बनाउने, पाइप ओच्छ्याउने र मोटरले पानी तानेर वितरण गर्ने हो भन्ने जस्तो यान्त्रिक र एकांकी बुझाइ देखिन्छ । पानीको मूल संरक्षण गर्ने, पानी मूल भएको क्षेत्रको भू-उपयोग र पानी रिचार्ज गर्नु पनि खानेपानी व्यवस्थापनको अभिन्न अंग हो भन्ने कुरालाई नजरअन्दाज गरिएको छ ।

पानीको यस्तो अभाव भएपछि स्वाभाविक हिसाबले मानिसहरुको ध्यान पानीका अन्य विकल्पहरुतर्फ जाने नै भयो । यही मौकामा तल्लो भेगमा रहेका नदी र खोलाको पानी तानेर माथिल्लो भेगमा रहेका बस्तीहरुमा पानी पुर्‍याउने योजनाहरु सञ्चालन गर्न संघ, प्रदेश र स्थानीय सरकारमाथि दबाब परिरहेको छ । बस्तीभन्दा निकै तल खोला र नदीहरुबाट पानी तानेर माथिल्लो भेगका बस्तीहरुमा पुर्‍याउन विनाअध्ययन ठेक्कापट्टामा निर्माण भैरहेका वाटर लिफ्टिङ भनिने योजनाहरु कि लगानी अभावमा अधुरै रहेको पाइयो कि सञ्चालन खर्चको अभावमा केही वर्षभित्रै बन्द हुने रहेछन् । यी आयोजनाहरुको निर्माण र त्यसपछि बिजुली र अन्य खर्च धन्न गा‍ह्रो हुने देखियो । प्राकृतिक स्रोत व्यवस्थापनमा अध्ययन अनुसन्धान गरिरहनुभएका दिलबहादुर खत्रीको विचारमा पानी तान्न प्रयोग भएको विद्युतको महसुल तिर्न नसकेर यस्ता योजनाहरु केही वर्षभित्रै बन्द हुन्छन् । समुदायको आर्थिक क्षमताले धान्नै नसकिने गरी अत्यन्तै महँगो हुने हुनाले सुन्दा आकर्षक र उपयुक्त लागे पनि यस्ता योजनाहरु दिगो रुपमा भरपर्न सकिने विकल्प देखिएनन् ।

पानीकै कारणले बसाइ सर्नुपर्ने व्यथा एकातिर छ भने अर्कोतिर बस्ती बस्तीबीचमा पानीकै अभावले सामाजिक द्वन्द्व चुलिँदो छ । दिक्तेल सदरमुकामभित्र नै पानीका मुहान भएका बस्ती र त्यहाँको पानीमा निर्भर हुनुपर्ने तल्लो भेगमा बस्ने बासिन्दाहरुबीच द्वन्द्व व्यवस्थापन गर्न १२बुँदे समझदारी गरिएको छ । त्यति हुँदा पनि यी समुदायबीचको अविश्वास र विद्यमान असमझदारी मेटिएको छैन । एसियाली विकास बैंकको ऋण सहयोगमा बनेको र जिल्ला खानेपानी समितिमार्फत वितरण भैरहेको जिल्ला सदरमुकाम दिक्तेलको खानेपानी आयोजना नै ऋणको चंगुलमा परेको छ । पानी बेचेको भरमा करोडौंको ऋण भुक्तानी गर्नुपर्ने भएपछि सेवामूलक हुनुपर्ने समिति नै उपभोक्ताहरुबाट पैसा उठाउने साहु महाजन जस्तो भएको छ । खोटाङ जस्तो पहाडी भेगमा समेत सार्वजनिक धारा राख्ने हो भने पैसा नउठ्ने, नराखौं भने बटुवाले समेत पानी खान नपाउने जस्तो विचित्रको अवस्था सिर्जना भएको देखिन्छ ।

जल सुरक्षाको विषयमा विद्यावारिधि गरिरहनु भएका कमल देवकोटा पानी वितरणको यस्तो असमान प्रणाली विकसित हुँदै गएकोमा चिन्तिन हुनुहुन्छ । उहाँको विचारमा खानेपानी व्यवस्थापनमा अहिलेको अवस्था र अभ्यासले पानीलाई सेवा र आवश्यकताको रुपमा नलिइ व्यापारिक वस्तुको रुपमा रुपान्तरण गरिदियो । यसले गर्दा पैसा नभै पानी नपाउने र पैसा तिर्न नसक्नेलाई खानेपानीको पहुँच नहुने अवस्था सिर्जना भयो । यस्तो अवस्था आउनुमा सरकारी नीति नै जिम्मेवार रहेको दिक्तेल खानेपानी उपभोक्ता समितिका अध्यक्ष नवराज जोशी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ- ‘हामी उपभोक्ता समितिलाई त सरकारी नीति नियमले नै व्यापारी बनायो । समितिलाई करोडौंको ऋण भुक्तानी गर्न ताकेता गरिन्छ । सञ्चालन खर्च उठाउनै पर्छ, नत्र कर्मचारीको तलब, मर्मतसम्भार र पानी वितरणमा लाग्ने खर्च धान्न सकिँदैन । यस्तो अवस्थामा पानी वितरण गरेर उपभोक्ताहरुबाट पैसा नउठाइ धरै छैन । अनि कसरी सार्वजनिक धारा राख्न र सहुलियतमा पानी दिन सकिन्छ ?’

यसरी पानी महँगो र दुर्लभ भएपछि वा बनाइएपछि पानीको किनबेच र व्यापारीकरण हुने नै भयो । पानीलाई अन्य व्यापारिक वस्तुसरह किनबेच गराइएपछि जसले धारा जडान गर्न, धरौटी राख्न र महिनावारि पानीको बिल तिर्नसक्छ, उसैले मात्र स्वच्छ खानेपानी पाउने र विपन्न समुदायले पानी नै नपाउने स्थिति सिर्जना भएको छ । यसमाथि खानेपानीका संघीय र प्रादेशिक आयोजनाहरु बन्दा स्थानीय सरकारको कुनै संलग्नता नै नहुने स्थितिले खानेपानी व्यवस्थापन भन्नु नै ठेक्कापट्टा लिनेदिने, ट्यान्की बनाउने, पाइप ओच्छ्याउने र धारा टुटी बनाउनेमा सीमित भएको देखिन्छ । पानी मूल संरक्षण गर्ने, पानी मूल भएको क्षेत्रको भू-उपयोग र पानी रिचार्ज गर्नु पनि खानेपानी व्यवस्थापन नै हो भन्ने बुझाइ जनस्तरसम्म पुगेको देखिँदैन । यस्तो संकटको भूमरी बनेको बनाइएको छ कि बोतलको पानी उत्पादन गर्ने कम्पनी र खानेपानी ठेक्कापट्टाबाट लाभान्वित हुने व्यक्ति या संस्थाबाहेक अरुले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले भन्नुभए झैं दुई रुपैयाँको पानीलाई आठ रुपैयाँको बोतलमा भरी ३० रुपैयाँमा किनेर खानुको विकल्प छैन ।’

माथि नै भनियो, खोटाङलगायत पहाडी (तराई, हिमाली ?) भेगमा पानीका मूल सुक्ने, भएका मूलहरु, खोला, खोल्सी र नदीहरुमा पानीको मात्रा र बहाव घटिरहेको देखिन्छ । पानी अभावले गाउँबस्ती नै रित्तिरहेका हुनाले यो समस्या झनझन विकराल हुँदै गइरहेको छ । स्थानीय सरकारहरुमा पनि के कसरी यो समस्या सुल्झाउन सकिन्छ भन्ने एक किसिमको हुटहुटी देखिन्छ । स्थानीय जनप्रतिनिधि चिन्तित र गम्भीर देखिए पनि खानेपानी व्यवस्थापनमा पर्याप्त लगानी, अध्ययन अनुसन्धान, तथ्यपरक योजना निर्माण र पर्याप्त तयारी देखिँदैन । यसरी पानी सुक्दै जानुमा जलवायु परिवर्तनले यसो यसो गरी यति यति असर पुर्‍याएको छ भन्ने तहमा वैज्ञानिक खोज पुगेको देखिँदैन ।

पानी मूल संरक्षण जत्तिकै महत्वपूर्ण विषय पानीलाई व्यापारिक वस्तु नबनाइ गरिबको समेत सहज तरिकाले पानीमा पहुँच स्थापित हुने किसिमले खानेपानी वितरण प्रणाली स्थापित गर्नु हो । पानीलाई धनी र पहुँचवालाहरुले मात्र लिनसक्ने तर गरिब निमुखाहरुले पाउन नसक्ने अवस्था आउने भयो भने त्यो धार्मिक, मानवीय र सामाजिक न्यायको हिसाबले पनि अत्यन्तै विडम्बनापूर्ण स्थिति हो ।

आगामी दिनमा पानीको अभाव अझै बढ्दै जाने देखिइसकेकोले संघ, प्रदेश र स्थानीय सरकारहरुले खानेपानी व्यवस्थापन भनेको ट्यान्की बनाउने, पाइप बिच्छ्याउने र धाराटुटी बनाउने हो र बजेट छुट्याएर निर्माण पूरा गरे हुन्छ भन्ने अल्पकालीन सोचबाट माथि उठ्नैपर्छ । संघीय र प्रादेशिक योजना बन्दा स्थानीय सरकारको सहभागिता र योजना कार्यान्वयनमा हिस्सेदारी नहुने हो भने त्यस्ता योजनाहरु दिगो रुपमा चल्न नसक्नेमात्र हैन, आयोजना पूरा हुनसमेत अप्ठेरो छ । त्यसकारण तीन तहकै सरकारहरुले एकांकी हैन, समन्वयात्मक हिसाबले योजना बनाएर अघि बढ्नुको विकल्प छैन । मुहानमा पानी नै नहुने भयो भने र स्थानीय सरकार र समुदायबीच सहकार्य नहुने भयो भने खानेपानीका यान्त्रिक पूर्वाधारहरुले मात्रै हामीलाई पानी खुवाउन सक्दैनन् ।

खानेपानी भन्नेबित्तिकै ट्यान्की, पाइप र धारा नै हो झैं गरी स्थापित भएको साँघुरो बुझाइबाट माथि उठी अहिलेसम्मका अध्ययन अनुसन्धानले सुझाएअनुसार वर्षातको पानी एकोहोरिएर खोला, खोल्सा र नदीहरुमा पुग्नु अगाडि पानी रिचार्ज गर्ने पोखरी या धाप या कुलाकुलेसाहरु बनाइ रिचार्ज बढाउने, पानीका मूल भएको भुभागमा बोटबिरुवाहरुको संरक्षण गर्ने, पानीका मूलहरु नजिकै सडक, बिजुली जस्ता भौतिक विकासका पूर्वाधारहरु बनाएर त्यस्ता भू-खण्ड र भू-बनोटमा असर नपर्ने गरी विकासका योजना बनाउँदा अक्वाफर भनिने जमिनमुनि रहेका विशालतम घडाहरुमा पानी रिचार्ज भै मूलहरु रसाइरहन्छन् । कुन रुख विरुवाहरु पानी रिचार्जको लागि उपयुक्त हुन् भन्ने एकिन अध्ययन छैन । ओखर, उत्तिस, चिउरी जस्ता चौडापाते रुख भएको ठाउँमा पानी आएको हो कि पानी भएको ठाउँमा यी रुखविरुवाहरु आएका हुन् ? ठोकेरै भन्न सकिने गरी अध्ययन अनुसन्धान भएको देखिँदैन ।

तथापि पानीमूल संरक्षण, पानी रिचार्जको तौरतरिका मिलाउने, पानीका मूल वरिपरि वन फडानी रोक्ने, प्राकृतिक रुपमै पानी मूल वरिपरि देखिने रुखविरुवाहरुले पानी रिचार्ज गराउन सहयोगी हुन्छन् भन्ने आधारमा त्यस्ता रुखविरुवाहरु लगाउने र वातावरण मैत्री विकास संरचनालाई प्राथमिकतामा राख्दा पानी व्यवस्थापनमा सकारात्मक प्रभाव पर्दछ भन्न सकिन्छ । पानी मूल संरक्षण जत्तिकै महत्वपूर्ण विषय पानीलाई व्यापारिक वस्तु नबनाइ गरिबको समेत सहज तरिकाले पानीमा पहुँच स्थापित हुने किसिमले खानेपानी वितरण प्रणाली स्थापित गर्नु हो । पानीलाई धनी र पहुँचवालाहरुले मात्र लिनसक्ने तर गरिब निमुखाहरुले पाउन नसक्ने अवस्था आउने भयो भने त्यो धार्मिक, मानवीय र सामाजिक न्यायको हिसाबले पनि अत्यन्तै विडम्बनापूर्ण स्थिति हो । यसो हुन नदिइ विपन्नहरुलाई पनि पानीको पहुँच निश्चित गर्न संघ, प्रदेश र स्थानीय सरकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन, गर्नुपर्दछ ।

“Views expressed here are personal and not associated with any affiliated organisations” 

This blog article was first published at Nepal Press on March 31, 2023.